top of page
Search

ऋग्वेदमा के छ?

  • Writer: Sewa Bhattarai
    Sewa Bhattarai
  • Aug 20
  • 5 min read

हिन्दु धर्मको पहिलो पुस्तक ऋग्वेद पढिसकेपछि मनमा लागेका केही कुरा लेख्दैछु।

ऋग्वेदमा १० वटा मण्डला छन्, जसमा प्रत्येकमा औसतमा १०० वटा सूक्त अर्थात् कविता रहेका छन् ।

ऋग्वेदका विषयहरूको कुरा गर्दा, ऋग्वेदका ऋचामा आइरहने प्रमुख विषयहरू हुन्: श्रृष्टिकथाहरू, इन्द्र, अग्नि, मित्र, वरूण जस्ता देवताका भजन, सोमरस र सोमपान, यज्ञ, युद्ध, प्रकृती र विशेषगरी पानीको चक्रको वर्णन, आदि। सैद्धान्तिक रूपमा यी विषय लैङ्गिक रूपमा तटस्थ भएतापनि परम्परागत रूपमा पुरूष हावी हुँदै आएका युद्ध र यज्ञ जस्ता विषयको प्राधान्यले ऋग्वेदलाई पौरुषीय चरित्र दिएको छ। यी विषयहरूको छोटो चर्चाः

श्रृष्टिकथाहरूः हिन्दु धर्मको आदिपुस्तक मानिएको ऋग्वेदमा श्रृष्टिको हिन्दु बयान रहेको मैले सुनेकी थिएँ। त्यही खोज्दै जाँदा मैले ऋग्वेदमा श्रृष्टिका विभिन्न र परस्पर बाझिने बयानहरू भेटाएँ।

धेरै ठाउँमा ऋग्वेदका नायक इन्द्रले यो संसारको श्रृष्टि गरेको भनिएको छ। केही ठाउँमा ऋग्वेदमा अर्का प्रमुख देवता, सवित्र वा सविता भनेर चिनिने सूर्य, ले यो संसार श्रृष्टि गरेको पनि भनिएको छ। यदाकदा अरू देवतालाई पनि यो श्रेय दिइन्छ। जसरी विष्णु, शिव, शक्ति वा अरू पनि देवीदेवताका आख्यानमा उनीहरूलाई नै श्रृष्टिकर्ताका रूपमा चिनाइन्छ, त्यही परम्परामा यी कथा रहेको मैले बुझेँ।

नास्तिक हिन्दुः अन्तिम मण्डलामा भने श्रृष्टिका निकै रोचक कथा भेटिए। प्रसिद्ध नासदिय सुक्तमा "यो संसारको श्रृष्टि कसले गर्यो, त्यो कसैलाई थाहा छैन, किनकी सबैभन्दा जान्ने देवता र विद्वान पनि श्रृष्टि भएपछि नै अस्तित्वमा आएका हुन्," भनेर भनिएको छ। अर्थात यो सूक्तले भगवानले यो श्रृष्टि गरेका होइनन्, श्रृष्टि आफैं भयो भन्ने अर्थ दिएको छ।

यो अर्थले ऋग्वैदिक हिन्दुहरू सर्वशक्तिमान परमेश्वरलाई नमान्ने नास्तिक पो थिए कि? भन्ने प्रश्न पनि उठाएको छ। हिन्दु हुनका लागि आस्तिक हुनु पर्दैन, भगवानलाई शक्तिशाली मान्नु पर्दैन, पूजा गर्नु पर्दैन, बरू ज्ञानको खोजी गरेर पनि हिन्दु हुने बाटो छ भन्ने मेरो बुझाइ रह्यो। यो सूक्तले भौतिक शास्त्रको ज्ञानको खोजी गरेको छ।

विभिन्न अरू सूक्तमा पनि श्रृष्टिको यस्तो ज्ञान पाइन्छ – श्रृष्टि भगवानले गरेको होइन, आफैं भयो भन्ने आशय। कुनै सूक्तमा भनिन्छ, पहिले केही थिएन, त्यसपछि पदार्थको अस्तित्व भयो, त्यसपछि जलतत्वले गर्भधारण गरेर जन्म दियो। यी सूक्तका आशय संसारको श्रृष्टिको पश्चिमा, वैज्ञानिक बुझाइसँग मिल्छन् – पहिले केही थिएन, त्यसपछि बिग ब्याङ् अर्थात ठुलो विस्फोट भएर पदार्थहरूको श्रृष्टि भयो, र कालान्तरमा पानीबाट जीवनको शुरूवात भयो। पृथ्वीको, वनस्पतिको श्रृष्टिका पनि यस्तै बयान ऋग्वेदमा पाइन्छन्।

श्रृष्टिकर्ता ब्रहमाः अन्तिम मण्डलामै ब्रह्माले श्रृष्टि गरेका विभिन्न बयान पाइन्छन्। कुनै कुनै सूक्तमा ब्रह्मालाई श्रृष्टिकर्ता भनेर नाम लिइएको छ भने एउटा सुक्तमा विराट पुरुषका शिरबाट ब्राह्मण, छातीबाट राजन, तिघ्राबाट वैश्य, र खुट्टाबाट शुद्रको श्रृष्टि भएको बताइन्छ, जुन हाल हामी ब्रह्माको कथाका रूपमा बुझ्छौं। केही ठाउँमा श्रृष्टिकर्ताको नाम दक्ष वा प्रजापति भएको बताइन्छ, र आज आएर दक्ष र प्रजापतिका ती कथा पनि ब्रह्माकासँग कथासँग केही हदसम्म मिलेका छन्। हिन्दु शास्त्रमा श्रृष्टिका यस्ता थुप्रै कथा भएको अवस्थामा (जहाँ हरेक देवी/देवताको परम्पराले आआफ्नै देवी/देवतालाई श्रृष्टिकर्ता र सर्वश्रेष्ठ मान्छन्) ब्रह्माको कथा किन सर्वाधिक लोकप्रिय भयो, त्यो मैले बुझ्न सकेको छैन। ब्रह्माका कथामा यस्ता विभिन्न विवरण भएका कारणले हुन सक्छ, जुन अरू देवताका कथामा कम पाइन्छ।

श्रृष्टिका रोचक कथामा, अण्डाबाट देवताको श्रृष्टि भएको एउटा कथा पनि पाइन्छ। यी विभिन्न कथामा एउटा समानता छः श्रृष्टिकर्ता भएको अवस्थामा श्रृष्टिकर्ता पुरूष नै छन् – इन्द्र, ब्रह्मा, अण्डाबाट निस्केका देव, आदि। पुरूषलाई श्रृष्टिकर्ता मान्दा महिलालाई र समाजलाई के कस्ता समस्या हुन्छन्, ती कुरा फुर्सदमा गरौंला। अहिले भने, महिला श्रृष्टिकर्ता कतै छन् कि भनेर हेर्दै जाँदा अदितिको उल्लेख भेटेर खुशी लाग्यो। ८ वा १२ आदित्यकी माता अदितिले श्रृष्टिकर्ता दक्षलाई जन्म दिएको कथा पनि ऋग्वेदमा भेटिन्छ, जसमा उनले जन्म दिइरहेको दृश्यको वर्णन पनि पाइन्छ।

भजनः ऋग्वेदका अधिकांश ऋचा ३३ कोटि देवताका भजन नै हुन्। हिन्दु धर्ममा ३३ कोटी अर्थात ३३ करोड देवता छन् भनिन्छ, तर ऋग्वेदमा ३३ करोड नभएर ३३ कोटि अर्थात किसिमका देवता भेटिन्छन्: १२ आदित्य, ११ रूद्र, ८ मरूत, र २ अश्विनीकुमार। हुन त ऋग्वेदमा अरू पनि देवताको उल्लेख छ, तर ३३ कोटि भनेर यिनैलाई चिनाइन्छ। यी देवता मध्ये रूद्र आज शिवका नामले प्रसिद्ध भएका छन्, मरूत त्यति लोकप्रिय छैनन्, यदाकदा कुनै कथामा अश्विनीकुमार भेटिन्छन्, र इन्द्र लगायत आदित्यको भूमिका फेरिएको छ। अर्थात ऋग्वेदमा अर्चना गरिएका कतिपय देवता आज लोकप्रिय छैनन्, यहाँसम्म कि कतिपय देवता अपरिचित झैँ लाग्छन्। यी देवतामा पछि अनेकौं देवता थपिएर ३३ कोटिलाई ३३ करोडका रूपमा बुझ्न थालिएको देखिन्छ।

आज प्रायः कथाका पृष्ठभूमीमा मात्र देखापर्ने इन्द्र ऋग्वेदका नायक हुन्। ऋग्वेदका हजार भन्दा बढी सुक्त सबैभन्दा धेरै अर्थात झण्डै एक चौथाइ सुक्त इन्द्रका विषयमा छन्। इन्द्रलाई देवहरूका नायक र देवासुर संग्रामका विजेता मात्र नभएर यो संसारकै श्रष्टा र सर्वश्रेष्ठ देवता पनि भनिन्छ। आज यी सबै भूमिका प्रसिद्ध त्रिदेव ब्रह्मा, विष्णु र महेश्वरले ओगटेका छन्, जुन ऋग्वेदमा ठ्याक्कै यी भूमिकामा छैनन्।

त्रिदेवको प्रारम्भिक भूमिकाः त्रिदेवको कुरा गर्दा, यदाकदा ऋग्वेदले ब्रह्मालाई यो संसारको श्रष्टा भनेर चिनाएको छ। ऋग्वेदमा विष्णु छन्, तर उनलाई आदित्य (अर्थात कश्यप र अदितीका पुत्र), र इन्द्रका भाइ भनेर चिनाइन्छ। एक ठाउँमा इन्द्रलाई सहायता गर्नु बाहेक उनको त्यति ठुलो भूमिका कतै देखिँदैन। व्यासको महाभारतमा पनि कतिपय ठाउँमा उनलाई यहि पहिचानमा भेटिन्छ। अर्थात हामीले आज चिनेका पालनकर्ता, दशावतारधारी, सर्वशक्तिशाली विष्णु भन्दा ऋग्वेदका विष्णु निकै फरक छन्। आजका विष्णुसँग मिल्ने एउटा कथा चाहिँ ऋग्वेदमा भेटिन्छः विष्णुले दुई पाउले संसार नापे भनेर चाहिँ बेलाबेलामा भनिन्छ।

शिवको कुरा गर्नुपर्दा त शिव नामका व्यक्ति ऋग्वेदमा कतै छँदै नै छैनन्। ऋग्वेदमा ११ जना रूद्र छन्, र ती मध्ये एक महादेव छन् भनेर कतै कतै उल्लेख गरिन्छ। आज शिवसँग सम्बन्धित अधिकांश कथा ऋग्वेदमा छैनन्, मात्र रूद्रले ब्रह्माको शिरच्छेदन गरेको आशय दिने एउटा सूक्त भेटिन्छ। अर्थात, आज पूर्ण विकसित रूपमा हामीले बुझेका शिव ऋग्वेदमा छैनन्।

यी त्रिदेवको सट्टामा ऋग्वेदमा प्रशंसा गरिन्छ इन्द्र, सविता, वायु, अग्नि, मित्र, वरूण, सोम, जस्ता आदित्यहरूको, र रूद्र, मरूत, र अश्विनी कुमारको । ऋग्वेदमा उल्लेख गरिएका कतिपय देवताको त आज नामै सुनिँदैन, जस्तै दधिक्रादेव, अहिर्बुध्न्य, अध्वर्यु, आदि। र आज प्रचलित देवता, जस्तै राम, कृष्ण, गणेश, स्वस्थानी, तलेजु, आदि ऋग्वेदमा भेटिँदैनन्।

यसबाट मेरो बुझाइ के रह्यो भने हिन्दु धर्म परिवर्तनशील रहेछ। देवताहरूको पनि 'फेशन' हुँदो रहेछ, र समय र आवश्यकतासँगै उनीहरूको उतार चढाव हुँदो रहेछ।

यज्ञः ऋग्वेदमा यज्ञको अत्यधिक चर्चाले ऋग्वैदिक मानिसहरू यज्ञ गर्दा रहेछन् भन्ने बुझिन्छ, जुन आजपर्यन्त गरिन्छ। यज्ञकर्ताहरू पुरूष नै भएजस्तो बुझिन्छ।

युद्धः विभिन्न देवासुर संग्रामको उल्लेख ऋग्वेदमा पाइन्छ, जसमा प्रायः इन्द्र विजयी हुन्छन्। महिला योद्धा निकै कम देखिन्छन्, जसले ऋग्वदेलाई पौरूषीय चरित्र दिएको छ।

प्रकृति र पानीको चक्रः ऋग्वेदमा प्रकृति र विशेषगरी पानीको निकै वर्णन पाइन्छ। पानी परेपछि खोलानाला बग्छन्, जमीनमा भएका खाल्डाहरू पानीले भरिन्छन्, पछि त्यहि पानी उडेर माथि गएर बादल बन्छ, बादल भारी भएपछि एक आपसमा टकराएर पानी पर्छ, भन्ने जस्ता कुराहरू बारम्बार ऋग्वेदमा भेटिन्छ। कविताका रूपमा निकै मिठो भाषामा यो वर्णन पाइन्छ। यी र यस्ता प्रकृति सम्बन्धी थुप्रै सुक्तले ऋग्वैदिक मानिसमा प्रकृति र भौतिकशास्त्रको ज्ञान थियो भन्ने देखाउँछन्।

सोमरस र सोमपानः ऋग्वेदमा सोमरस र सोमपानको अत्यधिक बयान छ, यहाँसम्म कि १० मण्डलामध्ये नवौं मण्डला पूर्णतया सोमरसकै बारेमा छ। सोमरसको बयान हामीले विभिन्न हिन्दु शास्त्रमा सुन्दै आएका छौं, र समसामयिक भाषामा मदिरालाई पनि सोमरस भन्ने गरिन्छ। तर सोमरस के थियो र त्यो मादक थियो कि थिएन भन्ने कुरा ऋग्वेदमा स्पष्ट छैन वा मैले त्यो जानकारी भेटिन।

सोमका बारेमा यति कुरा बुझिन्छः सोम लहरामा पाइन्छ, यसलाई ल्याएर दुई ढुंगाको बीचमा कुट्नुपर्छ (र ती ढुंगाको आवाज पर पर सम्म सुनिन सक्छ) वा दाँतले पिसेर रस चुस्न पनि सकिन्छ, त्यसपछि त्यसलाई छान्नुपर्छ (प्रायसः भेडाको ऊनले बनाएको जालीबाट)। त्यो तीतो हुन्छ र त्यसलाई दुध वा दहीमा मिसाएर खानुपर्छ। हरियो आभा भएको सोमरसले शक्ति दिन्छ, यतिसम्म कि इन्द्रले सोमपान गरेर नै आफ्ना शत्रुहरूमाथि विजय पाउँछन्। र यज्ञ गर्ने मानिसले देवताहरूलाई कुशको आसनमा बसेर सोमपान गर्न निमन्त्रणा गर्दछन्।

यसरी वर्णित वस्तु वा लता आज हामीले जानेको कुनै पनि वनस्पतिसँग मिल्दैन, र यो काल्पनिक वा लोप भइसकेको मानिन्छ। (एक ठाउँमा, सोम अन्तरिक्षबाट आएको पनि भनिन्छ र यो विशेषगरी चन्द्र ग्रहसँग सम्बन्धित छ।)

अरू विषयः विविध विषयहरूमा मृत्यु, वाणी, जुवाडेको पश्चाताप, आदि विभिन्न विषय पनि छन्।


ऋग्वेदको प्रचीनता

ऋग्वैदिक समाजभन्दा पनि प्राचीन समाजका धर्मग्रन्थ हामीसँग लिखित रूपमा बाँकी छैनन्। त्यसैले हामीले ऋग्वेदलाई सबैभन्दा पुरानो धर्मशास्त्र नभएर हालसम्म प्राप्त सबैभन्दा पुरानो धर्मशास्त्र भन्नुपर्ने हुन्छ। यो सबभन्दा पुरानो धर्म नभएर यो भन्दा पुराना धर्म र अभ्यास थिए भन्ने कुरा पनि ध्यानमा राख्नुपर्ने हुन्छ। 

 

 
 
 

Comments


Post: Blog2_Post

©2021 by Sewa Bhattarai. Proudly created with Wix.com

bottom of page